पाँच करोडको इँटा नष्ट

  मंसिर ३०, २०७६

बाँके, ३० मंसिर : यस वर्ष बाँकेका इँटा व्यवसायीले बनाएको काँचो इँटाको चाङ शुक्रबार दिनभरको वर्षाका कारण गलेर नष्ट भएको छ ।

मौसमको शुरुमै इँटा गलेपछि बाँकेमा इँटा उत्पादन घट्ने भएको छ । मंसिरदेखि जेठ महिना इँटा उत्पादनको समय हो । इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले वर्षातका कारण व्यवसायीले करोडौँको नोक्सान व्यहोर्नु परेको बताए । बाँकेमा २० लाख काँचो इँटा काम नलाग्ने भएको अध्यक्ष खाँले बताए ।

सङ्घका कार्यालय सचिव सूर्य पौडेलले वर्षातले चाङका इँटा काम नै नलाग्ने गरी नष्ट भएको बताए । इँटा व्यवसायी सङ्घले तीन करोड वटा इँटा पानीले गलाएको जनाएको छ । व्यवसायीसँग नोक्सानबारे बुझ्ने काम भइरहेको छ,हालसम्मको नोक्सान हेर्दा पाँच करोडभन्दा बढी नोक्सान भएको व्यवसायीको अनुमान छ ।

हरेक वर्ष अकस्मात हुने वर्षाले इँटा व्यवसायीको करोडौँ नोक्सान हुने गरेको छ । खुला आकाशमुनि बनाइने इँटा नपकाउँदासम्म जोखिम रहन्छ । काँचो इँटाको बीमा हुँदैन, बीमाको व्यवस्था भए नोक्सान कम हुन्थ्यो, तर हाम्रो सुनुवाई कसैले गर्दैन ।बाँकेमा ५० बढी इँटा व्यवसायी छन् । इँटा उत्पादकहरूले मौसममा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन् ।

एक पटकमा ५÷६ लाखसम्म इँटा तयार पारिन्छ । सरकारले विसं २०७० असोजदेखि अनिवार्यरूपमा इँटाको कारोवारलाई मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

तपाईको प्रतिक्रिया