धनगढी क्षेत्रमा राखिएको अव्यवस्थित नाली हटाइयो

  साउन २६, २०७९

धनगढी, साउन २६ : कैलालीको धनगढी बजारमा व्यापारीले कैयौं वर्षदेखि पुरेर राखेको नाली रातारात निकालिएको छ । सामान्य वर्षामै पनि डुवान हुँदै आएको पार्क मोड क्षेत्रको नाली बुधबार राति निकालिएको हो। पानीको निकास नभएका कारण त्यहाँ डुवान हुँदै आएको थियो ।

पुरानो नालीलाई पुरेर व्यापारीले विभिन्न संरचना निर्माण गरेका थिए। धनगढीमा डुवान समस्या समाधानका लागि आक्रमक शैलीमा काम अगाडि बढाइरहनु भएका मेयर गोपाल हमालको निर्देशनमा सो संरचना पनि भत्काइएको छ।

डुवान हुने क्षेत्रमा नाली निकालिएपछि डुवान समस्या समाधान हुने आशा पलाएको स्थानीय घनश्याम भण्डारीले बताउनुभयो। ‘व्यापारीले नालीलाई पूर्ण रुपमा पुरेपछि पानीको निकास बन्द भएको थियो’, उहाँले भन्नुभयो, ‘मेयरको नजर त्यसमा परेको छ। अब सायद् डुवान हुँदैन।’ यसैगरी, वडा नम्बर ८ को धनगढी गाउँमा पनि नाली निकालिएको छ।

धनगढीको विभिन्न खोलानाला मिचेर भौतिक संरचना निर्माण गरिएका कारण हरेक वर्ष डुवान हुँदै आएको छ। डुवान समस्या समाधान गर्नकै लागि वर्षा सुरु हुनु अगाडि सुकुटी नालाको केही क्षेत्रको अतिक्रमण हटाइएको थियो।

वि.सं. २०२१ सालको नापनक्सा अनुसार रहेका साविकका सुकुटी, कैलाली, जिप्रका, सेतो पुल खोला, कृषि सामग्री संस्थान नजिक भएर बग्ने खोलानालामा भएका अतिक्रमण नहटाइसम्म डुवान समस्या समाधान नहुने मेयर हमालको भनाइ छ। ‘खोलानालामा भएको अतिक्रमण हटाइ पानीको प्राकृतिक निकासको व्यवस्था नगरेसम्म समस्या समाधान हुँदैन’, उहाँले भन्नुभयो।

खोलानाला भएका अतिक्रमण हटाउनका लागि धनगढी उपमहानगरपालिका दरो रुपमा लाग्ने र सो कार्यमा नगरवासीले साथ दिन आवश्यक रहेको हमालको भनाइ छ।

तपाईको प्रतिक्रिया