वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४१ लाख ठगी गर्ने दुई पक्राउ

  बैशाख १३, २०८१

काठमाडौँ, १३ वैशाख : वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु  ४१ लाख २० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु. ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु. तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया