ए डिभिजन लिगमा पुलिसको पहिलो जित

  मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो ।

तीन पटकको च्याम्पियन पुलिसको कठिन जितमा वैकल्पिक खेलाडी सुमन लामाले निर्णायक गोल गर्नुभयो । सुमनले ७० औँ मिनेटमा गोल गर्नुभएको थियो । ५१ औँ मिनेटमा बुद्धबल तामाङको स्थानमा मैदान छिर्नुभएका सुमनले रवि पासवानको लामो पासमा गोल गर्नुभएको हो ।

प्रतिस्पर्धात्मक खेलमा जावलाखेलले पनि उत्कृष्ट प्रदर्शन गरको थियो । जावलाखेलको दुई वटा प्रहार बारमा लगेर फर्किएपछि पुलिसको भाग्य खुलेको थियो । पुलिसले पनि थप गोल गर्ने राम्रा अवसर गुमाएको थियो।

यसअघि पहिलो खेलमा पुलिस विभागीय टोली आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । जावलाखेलको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा जावलाखेल मनाङ मस्र्याङ्दी क्लबसँग १–० गोलले नै पराजित भएको थियो । जितसँगै पुलिसले चार अंक बनाएको छ ।

जावलाखेलले खाता खोल्न सकेको छैन । पुलिसका रवि पासवान ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो । 

खेलपछि पुलिसका प्रशिक्षक अनन्त थापाले खेल बराबरी भए पनि जितबाट तीन अङ्क पाउँदा खुशी लागेको बताउनुभयो । ‘लिगमा सबै टोली १९–२० को छ । सही समयमा गोल भयो । लिग विस्तारै व्यवसायिक भएको छ । आगमी दिनमा पुलिसले पनि राम्रा विदेशी राखेर टप फाइट दिनेछ,’ थापाले भन्नुभयो ।

जावलाखेलका प्रशिक्षक किशोर केसीले सरप्राइज नतिजा निकाल्न खोजे पनि सम्भव नभएको बताउनुभयो । ‘खेलाडीको प्रदर्शनबाट खुशी छु । मौका पाए पनि सदुपयोग भएन । दुई वटा प्रहार बारमा लागेर फर्किनु दुर्भाग्य भयो’, उहाँले भन्नुभयो, ‘पुलिसले काउन्टर प्रहारमा गोल गर्दा गाह्रो भयो ।’

लिग अन्तर्गत सोमबार एनआरटी र ब्रिगेड ब्वाइज क्लब तथा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया