पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

  बैशाख १४, २०८१

काठमाडौँ, १४ वैशाख : नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । जितसँगै पुलिसले ६ अङ्क बटुलेको छ । पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । खेलको पहिलो सेटमा पुलिस २५-१९ अङ्कले विजयी भयो । पुलिसले दोस्रो सेट १७-२५ अङ्कले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५-१५ अङ्कले विजयी भयो । 

निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५-१३ अङ्कले हरायो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले चार लाख ९९ हजार तथा उपविजेता टोलीले दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले एक लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार पुरस्कार प्राप्त गर्नेछ । (रासस)

तपाईको प्रतिक्रिया