खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा प्रशिक्षकलाई १० वर्ष जेल

  माघ ०९, २०७७

सिउल, माघ ९ : दक्षिण कोरियामा महिला खेलाडीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक प्रशिक्षकलाई दश वर्षको जेल सजाय सुनाइएको छ ।

स्पीड स्केटिङ् खेलका पूर्वप्रशिक्षक चो जे-ब्योमलाई खेलाडी शिम सुक-हिलाई सन् २०१८ को शीतकालीन ओलिम्पिक्स खेल अगाडि यौन आक्रमण गरेको आरोपमा दोषी पाइएको हो ।

ती प्रशिक्षकले आफूले केवल खेलाडीलाई गाली गरेको र शारीरिक सजाय दिएको बताएका छन् ।

यो घटना विश्वव्यापी मिटु अभियानको समयमा दक्षिण कोरियाली खेलाडीहरूले प्रशिक्षकहरूमाथि दुर्व्यवहारको आरोप लगाएको सिलसिलामा पहिलोपटक प्रकाशमा आएको थियो ।

दुर्व्यवहारको आरोप
ओलिम्पिकमा स्पीड स्केटिङ्‌को सर्ट-ट्र्याक स्पर्धामा स्वर्णपदक विजेता शिम सुक-हिले सबैभन्दा पहिले सन् २०१८ को ज्यानुअरीमा उक्त आरोप लगाएकी थिइन् ।

ती प्रशिक्षकले आफू सानो उमेरको हुँदादेखि नै पटक-पटक दुर्व्यवहार गरेको उनले बताएकी थिइन् । सात वर्षको उमेरमै आफूलाई तिनले कुटपिट गरेको र आइस हकी स्टिकले पिटेर औँला भाँचिदिएको उनले बताइन् ।

त्यसपछि अन्य खेलाडीहरूपनि अघि सरेका थिए । त्यतिखेर उनलाई शिम तथा अन्य तीनजना खेलाडीलाई कुटपिट गरेकोमा १० महिनाको जेल सजाय सुनाइएको थियो ।

‘यौन हमला’
तर सन् २०१८ को डिसेम्बरमा २१ वर्षीया शिमले चोमाथि यौन हमलाको आरोप लगाइन् ।

त्यस्तो यौन हमला र दुर्व्यवहार आफू विद्यार्थी रहेकै बेला सन् २०१४ बाट सुरु भएको र सन् २०१८ को प्योङ्गचाङ्ग शीतकालीन ओलिम्पिक खेल अगाडिसम्म जारी रहेको शिमले बताएकी थिइन् ।

उनले लगाएका यौन दुर्व्यवहारका नयाँ आरोपहरूपश्चात् अढाई लाख दक्षिण कोरियालीहरूले ती प्रशिक्षकलाई अझ लामो कैद सजाय हुनुपर्ने माग गर्दै एक निवेदनमा हस्ताक्षर गरेका थिए ।

प्रशिक्षक चोले ती आरोप अस्वीकार गरेका थिए। उनले केवल अनुशासनका निम्ति शिमलाई गाली गरेको तथा शारीरिक सजाय दिएको बताएको बिबिसीले जनाएको छ ।

तर अदालतले उनलाई कैद सजायको साथै २०० घण्टाको यौन दुर्व्यवहार गर्नेहरूलाई दिइने परामर्श उपचार गराउन आदेश दिएको छ । साथै सात वर्षसम्म उनले बालबालिका तथा युवायुवतीसँग काम गर्न पाउने छैनन् ।

तपाईको प्रतिक्रिया