हात्तीगौँडामा कवर्डहल निर्माण हुने

  फागुन २८, २०७६

भक्तपुर, फागुन २८  : वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ । प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोलीले कभर्डहल निर्माण क्षेत्रको मंगलबार स्थलगत अध्ययन तथा निरीक्षण गरेका थिए ।

सो अवसरमा मन्त्री दुलालले कवर्डहल निर्माणको योजना तत्काल कार्यान्वयनमा ल्याउने उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा भक्तपुर वाग्मती प्रदेशको लागि मात्र नभई सिंगो मुलुकको लागि नै मार्गदर्शक भएको बताए । उनले प्रदेश सरकारले भक्तपुरको कुनै पनि जनमुखी योजनालाई यो वा त्यो बहानामा रोक्ने नभई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

सांसद बस्नेतले कवर्डहल निर्माणस्थलका बारेमा मन्त्री दुलाललाई जानकारी गराउँदै भक्तपुरमा जनमुखी योजना निर्माणलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।

हात्तीगौँडामै सांसद बस्नेतले क्षेत्र विकास कोष (सांसद कोष)बाट ५० लाखको लागतमा फुटसललगायत विभिन्न खेलकूद क्षेत्र निर्माणको लागि शिलान्यास गर्नुभएको थियो । उक्त स्थानलाई पर्यटकीयस्थल तथा खेलकूद क्षेत्रको हबको रुपमा विकास गर्ने लक्ष्यका साथ सांसद बस्नेतले अघिल्लो वर्ष सांसद कोष तथा नगरपालिकाको साझेदारीमा फुटसनको निर्माण सम्पन्न भइसकेको छ ।

सांसद बस्नेतले भक्तपुरको आर्थिक समृद्धिको आधारको रुपमा खेलकूद क्षेत्रलाई विकास गर्ने लक्ष्यका साथ आफूले विभिन्न योजना ल्याएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया