भारतमा पनि भेटियो कोरोनाभाइरसको नयाँ भेरिएन्ट, नेपाल पनि जोखिममा

  मंसिर १६, २०७८

काठमाडौं, मङसिर १६ : कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् ।

“एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूको सम्पर्कमा रहेकाहरूको समेत परीक्षण गराइएको जानकारी दिनुभयो ।

उनीहरू सवैलाई आइसोलेसनमा राखेर उच्च सतर्कता अपनाइएको पनि सहचिव अग्रवालको भनाइ छ । उहाँले अन्य कोरोनाभाइरसभन्दा ओमिक्रोन भाइरसको असर पाँच गुणा बढी हुने भएकाले पनि यसका बारेमा अझ बढी सतर्कता अपनाउनु परेको स्पष्ट पार्नुभयो ।

अहिले विश्वभरीका २९ देशमा ओमिक्रोनका सङ्क्रमितहरु भेटिएको र उनीहरुको सङ्ख्या अहिलेसम्म ३७३ पुगेको पनि उहाँले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ओमिक्रोनको सङ्क्रमण पहिलो पटक दक्षिण अफ्रिकामा नोभेम्बर २५ मा पुष्टि भएको जनाएको राससले जनाएको छ ।

सुरुमा वि.१.१.५२९ नाम दिइएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले २६ तारिखका दिन ओमिक्रोन नामाकरण गरेको हो । यसलाई डब्लुएचओले उच्च सतर्कता अपनाउनु पर्ने खतरापूर्ण भाइरस भनेपछि विश्वभरी नै सतर्कता बढाउन थालिएको थियो । त्यसको केही समयमै धेरै देशहरुले उडान तथा नाका बन्द गर्दै सतर्कताका प्रक्रिया सुरु गरेका थिए ।

सङ्क्रमण पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिनेछ र उनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइनेछ । कोभिड पुष्टि नहुने यात्रुले सात दिन घरमा क्वारन्टीनमा बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ । अहिले विश्वभरका दर्जनौ देशहरूले सतर्कतासम्वन्धी विभिन्न उपायहरु अपनाएका छन् ।

नेपाल पनि जोखिममा

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै वैज्ञानिकहरुले बताइरहेका छन् । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले यो भेरिएन्ट संक्रमणशील भएको अनुमान गरिएकाले संसारमै फैलिरहेको बेला भारतमा देखिनु स्वाभाविक भएको बताए । उनका अनुसार नेपालसँग अझै पनि केही हप्ताको समय बाँकी रहेको छ ।‘नेपालमा आउनै नसक्ने बनाउन त सकिँदैन तर एकैचोटी यो भेरिएन्ट धेरै संख्यामा नआओस् भनेर कोसिस गर्न सक्छौं ’उनले भने ।

उनले हवाईमार्गबाट बढी संक्रमण आउन सक्ने भन्दै आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन, खोप लगाए पनि परीक्षण गर्नुपर्ने बताए । डा अनुप भन्छन् –‘भारतमा केश बढ्न थालेपछि नाकामा समस्या हुन सक्छ । स्थायी खालको क्वारेन्टाइन बनाउने कुरा गरिएको छ त्यो तुरुन्त काम थालनी गरिहाल्नुपर्छ । अनि नाकामा परीक्षण गर्न सक्ने बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्दा सुरुमा धेरै मान्छे पस्न पाएनन् भने एकैचोटी संक्रमणको संख्या ह्वात्तै बढ्दैन। अलिकति नियन्त्रित तरिकाले बढ्छ र त्यसले हामो स्वास्थ्य संयन्त्रण अस्तव्यस्त बनाउन सक्दैन।’

उनले नेपाल छिर्ने यात्रुको कडाइ नगरे तथा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएन भने ठूलो लहरको सामना गर्नुपर्ने खतरा रहेको औंल्याए । उनका अनुसार खोप सकेसम्म धेरैलाई लगाउन आवश्यक रहेको र फ्रन्टलाइन कर्मचारीहरुलाई बुस्टर डोज लगाउनुपर्ने सुझाए । उनका अनुसार सरकारले अहिले नेपालमा कोरोना संक्रमणको संख्या कम भएको हुँदा नै परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ अहिले नै समुदायमा गरिए परिस्थिति नियन्त्रणभन्दा बाहिर जान सक्दैन ।

ओमिक्रोनको जोखिमका कारण सरकारले बुधबार आवश्यक नपरेको खण्डमा विदेश भ्रमण नगर्न आग्रहसमेत गरेको छ । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गरिरहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले भारतमा देखिएसँगै नेपाल पनि जोखिममा भएकाले यसतर्फ सचेत रहेको बताउँदै आवश्यक निगरानी गरिरहेको बताए ।

अहिले विश्वव्यापीकरण यति तीव्र छ कि हामीले कुनै सीमाभित्र भाइरस रहन्छ भन्ने कुरा व्यवहारिक र सम्भव हुँदैहुँदैन । कहीं न कहींबाट एक देशबाट अर्को देशमा जाने सक्ने सम्भावनाहरु एकदमै रहेकोले सरकारले निगरानी गर्ने सकेसम्म चाँडै पत्ता लगाउने, नाकामा प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनको व्यवस्थाहरु गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

उनले नेपाल प्रवेश गर्नेले अनिवार्य कोरोना संक्रमणको परीक्षण गरेर आउनुपर्ने व्यवस्था गरिएको बताउँदै त्यसरी आएका व्यक्तिहरुमध्ये संक्रमण पुष्टि भएका नमुनामध्ये जीन सिक्वेन्सिङ गरेर कुन भेरियन्ट हो भन्ने पत्ता लगाउने काम सम्बन्धित निकायहरुसँग समन्वय गरेर कामहरु अगाडि बढिसकेको बताए ।

‘हामीले सिक्वेन्सिङहरु नियमित जीन सिक्वेन्सिङ गरिराखेका छौं र अन्तराष्ट्रिय रुपमा समझदारी भएका निकायहरुसँग पनि समन्वयमा नमुनाहरु पठाइराखेका छौं’, उनले भने ।

उनले संक्रमण फैलिन नदिन देशभित्र जनस्वास्थ्यका मापदण्डका कुराहरुलाई लिएर अलि बढी व्यवहारमा लानुपर्ने जरुरी रहेको बताए छ । ‘तीव्र गतिमा यो बारे सोचिएन र व्यवहारमा ल्याउन सकेनौं भने स्थलमार्गबाट वा हवाई मार्गबाट संक्रमण फैलिने डर छ । कोभिडविरुद्धको खोप अहिले पनि प्रभावकारी रहेको कुरा आएको छ । खोपलाई तीव्र गतिमा सबै मान्छेलाई लगाइ सक्ने गरी कामहरु सरकारले गरिराखेको छ,’उनले भने ।

अहिलेसम्म कहाँ कति देखा परे?

भारत – २

दक्षिण अफ्रिका – १८३

बोत्सवाना – १९

नेदरल्याण्ड्स – १६

हङकङ – ७

इजरायल – २

बेल्जियम – २

बेलायत – ३२

जर्मनी – १०

अष्ट्रेलिया – ८

इटाली – ४

चेकिया – १

डेनमार्क – ६

अस्ट्रिया – ४

क्यानाडा – ७

स्वीडेन – ४

स्विजरल्याण्ड – ३

स्पेन – २

पोर्चुगल – १३

जापान – २

फ्रान्स – १

घाना – ३३

दक्षिण कोरिया – ३

नाइजेरिया – २

ब्राजिल – २

नर्वे – २

अमेरिका – १

साउदी अरेबिया – १

आयरल्याण्ड – १

संयुक्त अरब इमिरेट्स – १

तपाईको प्रतिक्रिया