अण्डा र झण्डा अभियान साथसाथ

  फागुन २९, २०७६

रामपुर, फागुन २९ : पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।

  नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए  ।

        अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको सङ्ख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले चार लाख रकम विनियोजन गरेको जनाइएको छ । ‘अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ’, उनले भने ।

गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि ३५० बराबरको अण्डा दिन थालिएको छ । स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति दुई हजार ५०० रकम प्रोत्साहनस्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिए  ।

तपाईको प्रतिक्रिया