जेनेभा, माघ ७ : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दोरुपमा विश्वमा बढ्दै गएको बताइएको छ ।
विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो ।
त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति संक्रमित थपिएका छन् ।
पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।






