लैंगिक हिंसापीडितलाई एकद्वार सेवा

  फागुन १०, २०७६

रोल्पा, १० फागुन : रोल्पामा लैंगिक हिंसापीडितका लागि एकद्वार संकट व्यवस्थान केन्द्र स्थापना गरिएको छ । रोल्पा अस्पतालमा स्थापना भएको उक्त केन्द्रबाट लैंगिक हिंसापीडितले एकीकृत सेवा लिने व्यवस्था गरिएको छ ।

लैंगिक हिंसापीडित महिला तथा बालबालिकालाई एकीकृत उपचार गर्न यस्तो केन्द्र स्थापना गरिएको बताइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले जानकारी दिए । ‘अस्पताल शान्ति क्षेत्र भएकाले हिंसापीडित महिला तथा बालबालिकाले त्यहाँ आएर शान्ति र सुरक्षाको महसुस गर्ने भएकाले यस्तो सेवाका लागि अस्पताल रोजिएको हो’, अध्यक्ष आचार्यले भने । व्यवस्थापन केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण संकलन तथा संरक्षण, मानसिक र मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानूनी उपचार र पुनःस्थापनाको सेवा दिइने रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट धनमाया घर्तीले जानकारी दिए ।

बहुसरोकारवाला निकायको संलग्नता हुनेगरी कार्यक्रम तय गरिएको छ । सेवा केन्द्र सञ्चालनका लागि नेपाल प्रहरी, वार एसोशिएशन, स्वास्थ्य संस्था, गैह्रसरकारी संस्था, स्थानीय र प्रदेश सरकार, अस्पताल र आवास गृहकोे संलग्नता हुने बताइएको छ । सेवा केन्द्रका लागि तीन वटा समितिको व्यवस्थासमेत गरिएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षबाट रोल्पामा यो कार्यक्रम शुरु गरिएको हो । उक्त कार्यक्रमलाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट वित्तीय व्यवस्थापन हुने बताइएको छ ।

कार्यक्रमका लागि हाल संघीय सरकारको तर्फबाट १५ लाख बजेट विनियोजन गरिएको छ । लैंगिक हिंसापीडितलाई एकीकृत सेवा दिने भएकाले कार्यक्रम प्रभावकारी हुने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया