पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु, कुल ४५३ पुग्यो

  असोज ०८, २०७७

काठमाडौं, असोज ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको जनाएको छ । यससँगै नेपालमा अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६९ हजार नाघेको छ । सो अवधिमा ४५७ जना रोगमुक्त भएको मन्त्रालयले बिहीबार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । बुधवार मन्त्रालयले १,१७२ सङ्क्रमित फेला परेको तथा सात जनाको मृत्यु भएको जनाएको थियो ।

गत शुक्रबर एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । जुन अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो । तीमध्ये ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेशनमा र ९ हजार ८ सय २३ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ ।

बुधवार अपराह्णदेखि बिहीवारसम्म ११,४४९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार अहिलेसम्म नेपालमा ५०,४११ जना सङ्क्रमित निको भइसकेका छन् । यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.७ प्रतिशत हो ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी रहेको बिबिसीले जनाएको छ ।

गम्भीर लक्षण भएका बिरामीमध्ये २३२ जना सघन उपचारमा र २८ जना भेन्टिलेटरमा छन् । त्यस्तै अहिले देशभरि ६,५६५ जना क्वारिन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया