बहराइनका राजकुमार परिवारसहित नेपाल घुम्न काठमाडौंमा

  भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा परिवार सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु त्रिभुवन विमानस्थलमा बिहान ११ बजे आउनु भएको हो ।

बहराइनको राजपरिवार नेपाल घुम्न लालायित थियो । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको बहराइन स्थित नेपाली राजदूतावासले बताएको छ । नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो ।

राजकुमार नासिरसहितको टोलीले नेपालको ट्रेकिङ गर्ने कार्यक्रम रहेको छ । त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्ने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नुहुने छ । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नुभएको नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपरिवार र जनस्तरमा राम्रो परेको बहराइका लागि नेपाली राजदूत पदम सुन्दासले बताउनुभयो । नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया