काठमाडौं, भदौ २३ : जापानका ओलम्पिक मन्त्रीले पुर्ननिर्धारित टोक्यो ओलम्पिक ‘जुनसुकै परिस्थिति’मा पनि सन् २०२१ म हुनुपर्ने जोड दिनुभएको छ । टोक्यो ओलम्पिन सन् २०२० को जुलाईमा हुने निर्धारण गरिएकोमा कोभिड–१९ को महामारीले एक वर्षका लागि स्थगित हुन पुगेको थियो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोक्यो ओलम्पिक सन् २०२१ को मार्चभित्र सम्पन्न हुने गरी समयसीमा तोकेको छ । बीबीसीका अनुसार सोमबार नै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक ‘कोभिड हुँदा वा नहुँदा’ अगाडि बढ्ने जनाएको छ ।
ओलम्पिक मन्त्री साइको हाशिमोतोले मंगलबार भन्नुभयो, “संलग्न सबैजना ओलम्पिक साकार पार्न एकढिक्का भएर लागेका छन्, खेलाडीबाट समेत आगामी वर्ष हुने गरी बल लगाइएको छ,” उहाँले थप्नुभयो, “हामीलाई जस्तोसुकै मूल्यमा खेल सम्पन्न गर्नुछ, कोभिड–१९ विरुद्धको सतर्कताका उपायका लागि मैले पूर्ण ध्यान लगाउन चाहेको छु ।”
ओलम्पिक आयोजकले कोभिड–१९ को समयमा पनि ओलम्पिक साकार पार्ने दुई सय प्रस्ताबहरुमाथि विचार गर्दैछ । जसमा खेलाडीमाथि यात्रा प्रतिबन्धलाई खुकुलो बनाउने, खेलाडी ग्राममा एन्टी भाइरस सतर्कताका उपायहरु अपनाउने गतिविधि संलग्न छ ।






