प्रहरीको एक हजार १७७ नयाँ संरचना निर्माण

  भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : मुलुक सङ्घीय संरचनामा परिवर्तन भएसँगै दुई वर्षको अवधिमा नेपाल प्रहरीको एक हजार १७७ वटा नयाँ संरचनाहरूको निर्माण कार्य सम्पन्न भएको छ । प्रत्येक स्थानीयतहसम्म प्रहरी ईकाइहरू विस्तार गर्ने योजना अनुरुप प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहको आर्थिक सहयोगमा भौतिक पूर्वाधार तथा निर्माण कार्य शुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, पछिल्लो दुई आर्थिक वर्ष २०७५/७६ र ०७६/ ७७ मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस र सात सय ५५ वटा शौचालय निर्माण भएका छन् । मुलुकभर प्रहरीको दुई हजार ७५७ इकाईहरू छन् । एक स्थानीय तहमा एक प्रहरी इकाई स्थापना गर्ने लक्ष्य अनुरुप २०७५ सालबाट चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म २५१ नयाँ इकाईका लागि (जनशक्ति) दरबन्दीसमेत निकासा भइसकेको छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेश सिंहले प्रहरीको नियमित बजेटबाट ३९ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८८० शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कोषबाट ४८ र प्रदेश तथा स्थानीय तहको बजेटबाट ८१० नयाँ पूर्वाधार निर्माण भएका छन् । केही संरचना निर्माणको अन्तिम चरणमा छन् ।

प्रहरीका लागि न्यूनतम आधारभूत कुराको व्यवस्था गर्न ७२ वटा जिल्ला प्रहरी कार्यालयमा हिरासत, ब्यारेक र थुनुवा कक्षलगायतका सबै संरचना अत्याधुनिक र सुविधायुक्त हुने गरी निर्माण गरिएको उहाँले बताउनुभयो । महिला, बालबालिका, जेष्ठ नागरिक र तेस्रो लिङ्गीलगायतको संवेदनशीलता तथा अन्य विभिन्न कारणले पनि थप छुट्टाछुट्टै संरचना बनाउनुपर्ने आवश्यकता देखिन्छ, केन्द्रीय प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले भन्नुभयो, ‘जीर्ण, आधारभूत एवं अपरिहार्य देखिएका भौतिक पूर्वाधार निर्माण कार्य जारी छ ।’

तपाईको प्रतिक्रिया