स्मार्ट बत्तीले उज्यालिँदै सडक

  भदौ १६, २०७७

ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाभित्र धमाधम स्मार्ट सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेकोे जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरले मुख्य सडकमा बत्ती जडान सुरु गरेको हो । यससँगै स्मार्ट सडक बत्ती जडान गर्ने ललितपुर पहिलो स्थानीय तह भएको दाबी महानगरको छ ।
महानगरभित्रका तीनवटा मुख्य रुटमा ६६९ बटा बत्ती जडान हुनेछन् ।

महानगरका अनुसार बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल (इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङ्गलबजार लगनखेलसम्म, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ । यी बत्ती सोलार बत्तीभन्दा कम खर्चमा जडान हुन्छन् । प्रमुख महर्जनले भन्नुभयो, “स्मार्ट बत्ती सोलार बत्तीभन्दा निकै प्रभावकारी हुने भएकाले सडक झिलिमिली हुन्छ ।

प्रमुख महर्जनले कुपण्डोलस्थित नबिल बैङ्क अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको एक महिनाअघि सुरुवात गर्नुभएको थियो । हालसम्म करिब एक सयवटा बत्ती जडान भइसकेका छन् । काम सुरु भएको मितिले यो परियोजना ४५ दिनभित्र सम्पन्न हुने भनिए पनि निषेधाज्ञाका कारण काम सम्पन्न हुन केही समय लाग्ने भएको छ ।

महानगरको गौरवशाली योजनाअन्तर्गत पर्ने यो योजनामा मूूल्य अभिवृद्धि कर (भ्याट)सहित कुल लागत पाँच करोड २० लाख रहेको जनाइएको छ ।

स्मार्ट बत्तीका विशेषता
सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात् पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा पुग्नु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया