काठमाडौँ, भदौ ४ : सरकारले राष्ट्रकवि माधव घिमिरेकाे निधनप्रति दुःख व्यक्त गर्दै शाेक व्यक्त गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले १०१ बर्षकाे उमेरमा मङ्गलबार निधन हुनुभएका राष्ट्रकविप्रति शाेक प्रस्ताव पारित गरेकाे हाे । त्यस्तै बैठकले बाढी पहिराेमा परी ज्यान गुमाएकाहरूप्रति शाेक व्यक्त गरेकाे छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारका अनुसार, बैठकमा काेभिड-१९ सङ्क्रमण राेकथाम, नियन्त्रण तथा उपचारमा भइरहेका प्रयास र भावी रणनीतिक तयारीका विषयमा गम्भीर छलफल भएकाे छ । बैठकमा प्रायः सबै मन्त्रीले काेराेना नियन्त्रणमा गम्भीरतासाथ रणनीतिक याेजना बनाउनुपर्ने धारणा राखेका थिए । काेभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका संयाेजकसमेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाेखरेलले सीसीएमसीका कार्ययाेजना र तयारीबारे बैठकमा जानकारी गराउनुभएको थियो ।






