संविधान दिवसमा एमालेको विशेष समारोह

  असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान दिवस, २०८३ को अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ।

समारोहलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो । उहाँले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले संविधान र लोकतान्त्रिक मूल्य मान्यताका पक्षमा एमाले दृढतापूर्वक उभिने बताउनुभयो । जनताको अधिकार, राष्ट्रिय हित र मुलुकको समृद्धिका लागि पार्टीले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गर्ने उहाँको भनाइ थियो।

उहाँले संविधान दिवसलाई संविधान निर्माणमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गर्ने तथा संविधानका उपलब्धिको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो।

कार्यक्रममा संविधानको मर्म र भावनाअनुसार राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइएको थियो । अध्यक्ष ओलीले पार्टीभित्र पुनःगठन, रुपान्तरण लगायत विषयमा देखिएका सवालमा असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटीले निर्णय गर्ने जनाउँदै बाहिर चर्चा गरिएजस्तो अन्तरकलह नरहेको दावी गर्नुभयो।

समारोहमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहित पदाधिकारी, सांसदहरू, केन्द्रीय सदस्य, जनप्रतिनिधि, पार्टीका विभिन्न जनसङ्गठनका प्रतिनिधि तथा नेताकार्यकर्ताको सहभागिता थियो ।

एमालेले आज प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै असोज ३ गते पर्ने संविधान दिवसको अवसरमा विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया