सांसदको लोगो परिमार्जन गर्न फिर्ता

  भदौ ०४, २०७७

काठमाडौँ, भदौ ४ : चौतर्फी आलोचना भएपछि सङ्घीय संसद् सचिवालयले सदस्यहरूका लागि तयार पारेको लोगो परिमार्जनका लागि फिर्ता गरेको छ । परिमार्जन गरेर फिर्ता गर्ने गरी संसद्ले घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता पठाएको छ ।

लोगोमा प्रयोग भएको अद्यावधिक नक्सा सही नभएको र भद्दा भएको भन्दै आलोचना भएको थियो । सचिवालयले भने हातले निर्माण गरिएकाले पर्याप्त फिनिसिङ हुन नसकेको जनाएको थियो । भद्दा र त्रुटिपूर्ण रहेको भन्दै कतिपय सांसदले लोगो नलगाउने घोषणा गरेका थिए ।

सचिवालयले मङ्गलबारको निर्णयबाट लोगो फिर्ता पठाएको हो । यसअघि तोकिएकै रकममा लोगो कार्यालयले परिमार्जन गर्नेछ । उद्योग मन्त्रालयको सम्बन्धित कार्यालयसमेत हेर्ने सहसचिवसँग पनि सचिवालयले बुधबार थप परामर्श गरेको छ । धको प्रतिबद्धता कार्यालयले जनाएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले यसअघि कबुल भएकै सर्त र पैसामा लोगो परिमार्जन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग मन्त्रालयका अधिकारी तथा कार्यालयका जिम्मेवार अधिकारीसँग परामर्श गरेका छौँ । हामीलाई यसअघिको सम्झौताबमोजिम चाँडो लोगो परिमार्जन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसमा सचिवालयलाई थप कुनै व्ययभार पर्ने छैन ।”

तपाईको प्रतिक्रिया