बाजुरामा पहिरोमा परी दुई जनाको मृत्यु, दुई घाइते

  भदौ ०३, २०७७

बाजुरा, भदौ ३ : बाजुराको छेडेदह गाउँपालिका –५ बनगाडाको लेखमा पहिरोमा पुरी एक बालिकाको मृत्यु भएको छ । त्यसै गरी जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –६ दैयाकी ७५ वर्षीया झीनु लुवारको पनि बाढीले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा छेडेदह गाउँपालिकाको –५ की तीन वर्षीया बालिका स्वामीका बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक बालिकाको मङ्गलबार राति सुतिरहेको बेला अविरल वर्षाका कारण खर्कमाथिबाट आएको पहिरोले पुरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।

उहाँले भन्नुभयो, सोही पहिरोमा परी मृतक बुढाकी ६० वर्षीया हजुरआमा नन्दा बुढा र ५ वर्षीया दिदी बिनीता बुढा घाइते हुनुभएकाे छ । खर्कमा बाँधेका दुइ वटा बाख्रा पनि मरेका छन् ।

त्यसैगरी जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –६ दैयाकी ७५ वर्षीया झीनु लुवारको पनि बाढीले बगाएर मृत्यु भएको छ । मृतक लुवार मङ्गलबार राति घट्टमा गहुँ पिसिरहेको समयमा बढ्ढीगाड खोलामा आएको बाढीले घट्टसमेत बगाएपछि मृत्यु भएको सूचना अधिकारी ठगुन्नाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया