वीरगञ्ज, साउन ३२ : एकजना सञ्चारकर्मीसहित पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझ संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।
थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरका बिभिन्न वडाका १३ जना, नारायणी अस्पतालका ७ जना, प्राईम फर्मा उद्योगका ६ जना, नारायणी अस्पतालको आइृसियूमा उपचाररत १ पुरुष र १ महिला गरी २ जना, एक जना पत्रकार, वयोधा अस्पतालका तीन जना कर्मचार, पर्सा कै पोखरिया नगरपालिकाका बिभिन्न वडाका १२ जना, पर्साकै बहुदरमाइ नगरपालिकाका १ जना पुरुष रहेका छन् ।
त्यस्तैगरी संक्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष गरी २ जना रहनु भएको छ । शनिबार थपिएका ४५ जना संक्रमितसँगै पर्सामा संक्रमितको संख्या एक हजार २ ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
यसैबीच शुक्रबार र शनिबार गरी दुईदिनमा पर्साको वीरगञ्जका बिभिन्न कोभिड अस्पतालमा उपचाररत ७० जना संक्रमितहरु कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले शुक्रबार र शनिबार गरी दुईदिनमा उपचाररत ७० जना संक्रमितहरु संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो ।
वीरगञ्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार ३४ जना गरी ७० जना संक्रमण मुक्त भई डिस्चार्ज भएको उहाँले बताउनुभयो । संक्रमण मुक्तहुनेमा एक जना पत्रकार , नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगञ्ज कारगारका प्रमुख श्रवण पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु सहित १३ जना महिला र ५७ जना पुरुष संक्रमण मुक्तभई अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । संक्रमण मुक्त हुनेमा १ जना २ वर्षे बालिका र २ जना डाईलाईसिस सेवा लिई रहेका मृगौला रोगी समेत रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरी उपचारका क्रममा गरिएका पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि ती संक्रमितहरुलाई संक्रमणमुक्त घोषणा गर्दै अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म पर्सा जिल्लाबाट उपचारपश्चात ३ सय ७ जना संक्रमणमुक्त भई डिस्चार्ज भईसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्सालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।






