घृणापूर्ण भाषणविरुद्ध प्रयास दोब्बर गर्न गुटेरेसको आह्वान

  ३ घण्टा अगाडि

न्युयोर्क, २ असोज : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले डिजिटल माध्यम र कृत्रिम बौद्धिकता (एआई)सहितका नयाँ प्रविधिबाट घृणापूर्ण भाषण तीव्ररूपमा फैलिरहेको भन्दै त्यसविरुद्ध सरकार, प्रविधि कम्पनी र नागरिक समाजले प्रयास दोब्बर बनाउनुपर्ने बताउनुभएको छ ।

न्युयोर्कमा बिहीबार आयोजित अन्तरधर्मीय तथा अन्तर सांस्कृतिक संवाद र सहिष्णुता प्रवद्र्धन सम्बन्धी विश्वव्यापी सम्मेलनलाई सम्बोधन गर्दै उहाँले घृणापूर्ण भाषणले विश्वास कमजोर बनाउने, समुदाय विभाजित गर्ने र विभिन्न समूहलाई अमानवीय व्यवहारतर्फ धकेल्ने बताउनुभयो । जातिवाद, महिला विरोधी घृणा, विदेशीप्रतिको द्वेष तथा यहुदी र मुस्लिम विरोधी घृणासहित धार्मिक तथा जातीय समूह विरुद्धको भेदभाव बढि रहेको उहाँले उल्लेख गर्नुभयो ।

गुटेरेसले घृणापूर्ण भाषणले आफ्नो गम्भीर स्वरूपमा हिंसा भड्काउने, द्वन्द्व निम्त्याउने तथा नरसंहार, मानवता विरुद्धका अपराध, युद्ध अपराध र जातीय सफाइ जस्ता गम्भीर अपराधलाई बढावा दिन सक्ने चेतावनी दिनुभयो । अनलाइन र अफलाइन दुवै माध्यममा घृणाको सामूहिक अस्वीकृति आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले घृणाका मूल कारण र त्यसलाई बढावा दिने तत्व सम्बोधन गर्नुका साथै राष्ट्र, संस्कृति र धर्मबीच संवाद सुदृढ गर्नुपर्ने बताउनुभयो । यस्ता प्रयासमा महिला, पुरुष, युवा, धार्मिक तथा सामुदायिक नेता, आदिवासी र अल्पसङ्ख्यक समुदायको सहभागिता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

घृणापूर्ण सन्देशको सामना गर्न शिक्षा विस्तार, पीडितलाई थप सहयोग, सरकारको बलियो प्रतिबद्धता र प्रविधि कम्पनीको जवाफदेहिता बढाउनुपर्नेमा महासचिव गुटेरेसले जोड दिनुभयो । अभिव्यक्ति स्वतन्त्रता संरक्षण गर्नु आवश्यक भए पनि त्यसलाई अरूलाई हानि पुर्याउने वा घृणा फैलाउने बहाना बनाउन नहुने उहाँले बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घको घृणापूर्ण भाषण सम्बन्धी रणनीति तथा कार्ययोजनाले शिक्षा, साझेदारी, पैरवी र प्रतिवादका प्रयासलाई मार्गदर्शन गरिरहेको जानकारी दिनुभयो । साथै, धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घको कार्ययोजनाको उल्लेख गर्दै उहाँले वर्तमान र भावी पुस्ताका लागि सहिष्णुता तथा शान्तिपूर्ण सहअस्तित्व प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया