अङ्ग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत

  साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अङ्ग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गर्नुभयो । नापी विभागले नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक नक्सा राजपत्रमा समेत प्रकाशित गरेको थियो । विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउन जरुरी रहेको भन्दै अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।

अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कुटनीतिक नियोगहरू, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउने बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया