काठमाडौं, साउन २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पछिल्लो चौबीस घण्टामा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको जनाएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङका एक एक जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । चारजनाको सङ्क्रमणबाट मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ बस्ने ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा साउन २५ गते मृत्यु भएकोमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं ६ का ८५ वर्षीय वृद्धको धरानमा उपचारको क्रममा बुधबार निधन भएको छ । उहाँको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रलायले जनाएको छ ।
अछामको रामरोशन नगरपालिकाका एक १८ वर्षीय युवाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । पाटन अस्पताल, ललितपुरमा उपचाररत रहेको युवाको साउन २८ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो । त्यसैगरी, विराटनगर महानगरपालिका वडा नं ३ बस्ने एक २७ वर्षीय पुरुषको कोशी अस्पताल बिराटनगरमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । उहाँ मधुमेह र उच्च रक्तचापका बिरामी समेत हुनुहुन्थ्यो ।






