अफगानिस्तानको विद्यालयमा विस्फोट : सात जनाको मृत्यु, ९० बढी घाइते

  ५ मिनेट अगाडि

काबुल, १२ मङ्सिर : अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय संस्कृति तथा सूचना निर्देशक सामी उल हक बयानले विस्फोट विद्यालय नजिकै रहेको विस्फोटक पदार्थ भण्डारण केन्द्रबाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ । उहाँका अनुसार उक्त केन्द्र खानी कम्पनीहरूको विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग हुँदै आएको थियो ।

विस्फोटको कारण भण्डारण केन्द्रमा भएको लापरबाही हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

घाइतेमध्ये १५ जनासम्म अस्पतालमा उपचाररत रहेको र अन्य उपचारपछि घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

यसअघि कुनार प्रान्तीय प्रहरी मुख्यालयका प्रवक्ता फरीद देहकानले असदाबादको बाहिरी क्षेत्रमा पर्ने अन्दर सेर क्षेत्रमा रहेको विद्यालयमा बिहान १० बजे विस्फोट भएको बताउनुभएको थियो ।

गत अगस्टमा अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय परिसरमा भएको हातबम आक्रमणमा नौदेखि १४ वर्ष उमेर समूहका ४० भन्दा बढी बालबालिका घाइते भएका थिए । (रासस/एपी)

तपाईको प्रतिक्रिया