बाढीपीडित बालबालिकालाई मासिक १७ हजार पाँच सय सहायता

  १ घण्टा अगाडि

रसुवा, मङ्सिर ११ : भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहारका लागि सरकारले मासिक १७ हजार पाँच सय रुपियाँ सहायता कार्यक्रम सुरु गरेको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बिहीबार कार्यक्रम सुरु गरिएको हो ।

बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई पहिलो महिनाको सहायता रकम प्रदान गर्दै महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कार्यक्रम शुभारम्भ गर्नुभयो । बालिकाले १८ वर्ष नपुगेसम्म परिवारमै रहेर मासिक सहायता पाउनेछिन् ।

बाढीमा अभिभावक गुमाएका, बेपत्ता भएका तथा उच्च जोखिममा रहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, आवास र मनोसामाजिक सहयोगसहित दीर्घकालीन संरक्षण गरिने मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्थानीय तह र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयबिना बालगृहमा लैजान नपाइने व्यवस्था गरिएको छ ।

सरकार र साझेदार संस्थामार्फत हालसम्म ८१० बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग व्यवस्था मिलाइएको छ । साथै, बाढीपीडित बालबालिकाको संरक्षणका लागि एमआइटिजीएफसँग ५८ करोड रुपियाँ बराबरको सम्झौता भएको मन्त्री वादीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया