काठमाडौँ, १० मङ्सिर : शिक्षित श्रीमान् र सम्पन्न परिवार देखेर उहाँले विवाह गरेकी गर्नुभएको थियो । आर्थिक अवस्था सम्पन्न भएकाले आफूले कुनै विभेद भोग्नुनपर्ने उहाँको सोच थियो । तर, विवाह गरेको एक वर्ष नबित्दै दाइजो नल्याएको भन्दै श्रीमान्बाट मानसिक यातना सहनुपरेको छ ।
अधिवक्ता एवं महिला अधिकारकर्मी रसना ढकालसमक्ष घरेलु हिंसाको गुनासो लिएर आएकी ती महिलाको पीडाजस्तै घरेलु हिंसाका अनेक घटना छन् । ढकालका अनुसार यो हालैको घटना हो । उहाँले भन्नुभयो, “अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ तर हिंसा भने झन् बढ्दै गएको छ ।”
ढकालका अनुसार लैङ्गिक हिंसा घट्नुको सट्टा त्यसको स्वरूप र प्रकृति परिवर्तन हुँदै गएको छ । विशेषगरी काठमाडौँजस्तो शिक्षित सहरमा समेत घरेलु हिंसा डरलाग्दो रूपमा बढिरहेको उहाँको अनुभव छ । “सहर र घरको उचाइ हेरेर व्यक्तिको चेतना मापन गर्न सकिँदो रहेनछ”, उहाँले भन्नुभयो, “दाइजोका नाममा श्रीमान् र परिवारका सदस्यबाट मानसिक यातना भोगिरहेका महिलाका यस्ता धेरै मुद्दा छन् ।”
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सबैले अपनत्व महसुस गर्ने र बुझ्ने गरी रचनात्मक ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको धारणा छ ।
शङ्खमूल निवासी झुमा ९नाम परिवर्तन० अधिकारकर्मी हुनुहुन्छ । उहाँ अरूको अधिकारका लागि सङ्घर्ष गर्ने संस्थामा कार्यरत हुनुहुन्छ । हिंसा सहनु हुँदैन भन्ने उहाँको मुख्य सिकाइ हो । यद्यपि, आफ्नै परिवारभित्र हिंसारहित वातावरण कायम गर्न पनि निकै सङ्घर्ष गर्नुपरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “परिवारबाटै हिंसा हटाउन सकिएन भने नीति र कानुनले मात्रै सम्भव छैन ।”
हिंसाको मूल स्रोत परिवारभित्रै रहेको विभिन्न तथ्याङ्कले पनि पुष्टि गर्छन् । राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०८३र८४ को साउन, भदौ र असोज गरी तीन महिनामा घरेलु हिंसासम्बन्धी ६५ वटा मुद्दा दर्ता भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लैङ्गिक हिंसासम्बन्धी वार्षिक प्रतिवेदनमा महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी पीडित हुने गरेको उल्लेख छ । प्रहरीको तथ्यपत्रअनुसार उक्त आर्थिक वर्षमा देशभर महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका २१ हजार ६६७ वटा उजुरी दर्ता भएका थिए । यो प्रहरीमा दर्ता भएका कुल अपराधका मुद्दाको १० दशमलव ४ प्रतिशत हो ।
दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाका १७ हजार ४९६ वटा छन् । यो कुल लैङ्गिक हिंसाका घटनाको करिब ८१ प्रतिशत हो । घरेलु हिंसाका घटनामध्ये मानसिक यातना ५१ दशमलव ८६ प्रतिशत, शारीरिक हिंसा ४० दशमलव ०८ प्रतिशत र आर्थिक हिंसा ७ दशमलव ९९ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशगत तथ्याङ्कअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी छ हजार ९४३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा दुई हजार ८७५, बागमती प्रदेशमा एक हजार ३८०, कोशी प्रदेशमा एक हजार ३५६, सुदूरपश्चिममा एक हजार १९४, कर्णालीमा ९९६ र गण्डकीमा ८५० वटा घटना दर्ता भएका छन् ।
नेपालमा लैङ्गिक हिंसाविरुद्ध कानुनी उपचारका लागि घरेलु हिंसा ९कसुर र सजाय० ऐन, २०६६, मुलुकी अपराध संहिता, २०७४, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ९निवारण० ऐन, २०७१, बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, विद्युतीय कारोबार ऐन, २०६३ र अपराध पीडित संरक्षण ऐन, २०७५ लगायतका कानुन कार्यान्वयनमा छन् ।
राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले लैङ्गिक हिंसा न्यूनीकरणमा मात्र नभई यसको निर्मूलनमा जोड दिनुपर्ने बताउनुभयो । प्रत्येक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आए पनि हिंसाका घटनामा कमी आउन नसकेको उहाँको भनाइ छ । यसको मुख्य कारण घर, परिवार र आम नागरिकमा जनचेतनाको अभाव रहेको उहाँले बताउनुभयो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन् १९९१ देखि महिला मानव अधिकारको रक्षा र लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले विश्वव्यापी रूपमा मनाउन थालिएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी यो अभियान मनाइने राससले जनाएको छ ।






