काठमाडौँ, १० मङ्सिर : रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, समृद्धि तथा पर्यटन पूर्वाधार विस्तारका दृष्टिले महत्वपूर्ण आयोजनाका रूपमा यसलाई अघि बढाइएको हो ।
रामेछापका सङ्घीय सांसद डा कृष्णहरि बुढाथोकीले सो आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो । रामेछापलाई हिमाली पर्यटनको महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न, स्थानीय उत्पादन तथा पर्यटन व्यवसाय प्रवर्द्धन गर्न र रोजगारीका अवसर सिर्जना गर्न आायोजनाले योगदान गर्नेछ ।
अर्थ समितिका सभापति डा. बुढाथोकीले रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधारक्षेत्र जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि बजेट स्रोत सुनिश्चित हुनु रामेछापवासीका लागि खुसीको विषय भएको बताउनुभयो ।
“यो आयोजना रामेछापको समृद्धिसँग मात्र नभई नेपालको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार र राष्ट्रिय समृद्धिसँग जोडिएको छ,” उहाँले भन्नुभयो । आगामी दिनमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी रामेछाप हुँदै सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट सहज यात्रा गर्न सकिने उहाँले उल्लेख गर्नुभएको राससले जनाएको छ ।






