काठमाडौँ, ७ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटका अवसरमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचार, विमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले दुई देशकाबिचमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र यूएईबिच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकका लागि उच्च आय र सिपयुक्त रोजगारीका थप अवसर सिर्जना गर्न अनुरोध गर्नुभएको थियो ।
उपराष्ट्रपति यादवले पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनका लागि राजदूत शम्सीको पहल र योगदानको प्रशंसा गर्दै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह पनि गर्नुभयो ।
त्यस अवसरमा राजदूत शम्सीले नेपाल र यूएईबिचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ उचाइमा पुर्याउन यूएई इच्छुक रहेको बताउनुभयो ।
उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा यूएईले गरेको सहयोगको स्मरण गर्दै यस्तो मानवीय सहयोग भविष्यमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको राससले जनाएको छ ।






