संयुक्त राष्ट्रसंघ, ७ मङ्सिर : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गर्नुभएको छ ।
आइतबार जारी वक्तव्यमा महासचिव गुटेरेसले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको उल्लेख गर्नुभएको छ ।
उहाँले जलवायु सङ्कटले माग गरेको गम्भीरतालाई आत्मसात् गर्दै सरकारहरूले आवश्यक कदम चाल्ने अपेक्षा गरेका सबैको निराशाप्रति आफू सहमत रहेको बताउनुभएको छ ।
सम्मेलनका अध्यक्ष मुरात कुरुमले आइतबार आयोजित समापन सत्रमा प्रस्तावित अन्ताल्या सम्झौतामा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको जानकारी गराउनुभएको थियो । यसअघि शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन निर्धारित समयभन्दा करिब दुई दिन ढिलोसम्म सञ्चालन भए पनि सहमति जुट्न सकेको थिएन । आइतबार सम्झौताको तेस्रो मस्यौदासमेत सार्वजनिक गरिएको थियो । रासस/सिन्ह्वा
महासचिव गुटेरेसले सम्मेलनमा सहमति कायम हुन नसके पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यहरूमा कुनै अस्पष्टता नरहेको स्पष्ट पार्नुभएको छ ।
उहाँका अनुसार विश्वको तापक्रमले निरन्तर नयाँ कीर्तिमान कायम गरिरहेको, जलवायुजन्य चरम घटनाहरू तीव्र बन्दै गएको र हरितगृह ग्यासको उत्सर्जन अझै उच्च रहेको छ । जलवायु सङ्कट सम्बोधनमा हुने प्रत्येक ढिलाइले आगामी चुनौतीलाई थप जटिल र खर्चिलो बनाउने उहाँको भनाइ छ ।
विश्व तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्न कठिन हुँदै गएको उल्लेख गर्दै उहाँले तापक्रम वृद्धिको निर्धारित सीमा नाघ्ने अवस्था सम्भव भएसम्म छोटो र न्यून राख्ने अवसर तीव्र रूपमा साँघुरिँदै गएको चेतावनी दिनुभएको छ ।
महासचिव गुटेरेसले जलवायु सङ्कटको सामना गर्न विश्व समुदायले अझ प्रभावकारी र तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले जलवायु सङ्कटको प्रमुख कारकका रूपमा रहेको जीवाश्म इन्धनमाथिको निर्भरता क्रमशः अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कोइला, तेल र ग्यासको निरन्तर प्रयोगले जलवायु अस्थिरता बढाउनुका साथै अर्थतन्त्रलाई मूल्यवृद्धिको जोखिममा पारिरहेको र ऊर्जा सुरक्षामा समेत चुनौती थपिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
जीवाश्म इन्धनसँग सम्बन्धित शक्तिशाली व्यावसायिक स्वार्थ समूहहरूले वैज्ञानिक तथ्यलाई प्रभावित पार्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने तथा जलवायु संरक्षणका प्रयासमा अवरोध सिर्जना गर्ने गरेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।
दुबईमा सम्पन्न २८औँ जलवायु सम्मेलनमा सबै देशले न्यायोचित, व्यवस्थित र समतामूलक ढङ्गले जीवाश्म इन्धनको प्रयोगबाट क्रमशः बाहिरिने सहमति गरेको स्मरण गराउँदै उहाँले उक्त प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । (रासस/सिन्ह्वा)






