सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन

  ३ मिनेट अगाडि

काठमाडौँ, ५ मङ्सिर : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि पहिलो पटक जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट पूरा गर्‍यो । जर्ज मन्सेले ५४ बलमा १२ छक्का र आठ चौकासहित अविजित १२५ रन बनाउनुभयो । विनोद भण्डारी ३० रनमा नटआउट रहनुभयो ।

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले उपाधिसँगै एक करोड ५० लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपियाँमा चित्त बुझाएको छ ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिलिप नाथले अविजित ३९, रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अलि शेखले २४ रन बनाउनुभयो । सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिनुभयो ।

लिग चरणको शीर्ष टोली लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल पुगेको थियो । तर, दोस्रो क्वालिफायरमा चितवनलाई हराएको सुदूरपश्चिमले फाइनलमा शानदार जित निकाल्दै उपाधि आफ्नो बनायो ।

तपाईको प्रतिक्रिया