काठमाडौँ, २४ कात्तिक : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो चौथो जित हो भने जनकपुरले लगातार तेस्रो हार बेहोरेको छ ।
आफ्नो छैटौँ खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो ।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका स्कट कुग्लाइनले तीन विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका ब्रेन्डन म्याक्मुलेनले सर्वाधिक ३३ रन बनाए । थरिन्दु रत्नायके २६ रनमा अविजित रहे भने आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १० रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुरका कप्तान हरमित सिंहले चार विकेट लिए । आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक विकेट लिए ।
यस जितसँगै सुदूरपश्चिम छ खेलबाट आठ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितले उसको प्लेअफ सम्भावना थप बलियो बनाएको छ ।
छ खेल खेलेको जनकपुरले दुई खेलमा जित र चार खेलमा हार बेहोरेको छ । लिग चरणमा अब एउटा खेल मात्र बाँकी रहेकाले उसको प्लेअफ यात्रा कठिन बनेको छ ।






