काठमाडौँ, २४ कात्तिक : सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्त्वपूर्ण आवाज उठाएको स्मरण गर्नुभयो ।
“शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्त्वपूर्ण उपलब्धि हुन्”, सभामुख अर्यालले भन्नुभयो, “अब यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न आवश्यक छ ।”
नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान हाम्रो राष्ट्रिय शक्ति हो भन्दै उहाँले नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताउनुभयो ।
नेपाल भाषा, रञ्जना लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिकाको आवश्यकता औँल्याउँदै सभामुख अर्यालले यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवतको प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुने बताउनुभयो ।
“नेपाल संवत् केवल समय गणना गर्ने पात्रमात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो”, उहाँले भन्नुभयो ।
नेपाल संवत्को प्रारम्भ राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोक कल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवतले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको बताउनुभयो । “उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ”, सभामुखले भन्नुभयो ।
नेपाल संवतको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व नेपालमण्डलको जीवन पद्धतिसँग गहिरो रुपमा जोडिएको जनाउँदै उहाँले नेपालका चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा यसको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा शङ्खधर साख्वा प्रतिष्ठान स्थापना तथा नेपाल भाषाको विकास, संरक्षण र संवर्धन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल भाषा सङ्घर्ष समितिका अग्रजले गरेको आन्दोलनका कारण नेपाल भाषाको प्रवर्द्धन तथा नेपाल संवतको राष्ट्रिय मान्यता प्राप्त हुनसकेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आजभन्दा ठिक ४७ वर्षअघि अर्थात् नेपाल संवत् ११०० देखि नै यस संवत्लाई राष्ट्रिय संवतको मान्यता दिनुपर्छ भन्ने आवाज उठ्दै आएको भए तापनि गणतान्त्रिक सरकारले मात्रै नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको बताउनुभयो ।
“नेपाल भाषा आन्दोलन करिब पाँच दशकको यात्रा भइसकेता पनि अझै पनि यो सांस्कृतिक र राजनीतिक जागरणको प्रतिविम्बका रूपमा यो आन्दोलन अगाडि बढिरहेको छ, आज पनि यसको औचित्य छ”, उहाँले भन्नुभयो । (रासस)






