कतार, २४ कात्तिक : कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (आइटियू पिपि २६) को अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटमा ५जी तथा स्याटेलाइट सञ्चार, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, डाटा प्रोटेक्सन, डिजिटल सुरक्षा र युवा जनशक्ति विकास लगायत विषयमा अनुभव आदानप्रदान तथा सहकार्यको सम्भावनाबारे छलफल भएको छ ।
मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरण, दूरसञ्चार पहुँच विस्तार र सुरक्षित तथा समावेशी डिजिटल वातावरण निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै यी क्षेत्रमा मलेसियासँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।
उहाँले मलेसियामा कार्यरत नेपाली नागरिकहरूले त्यहाँको अर्थतन्त्र र समाजमा गरेको योगदानको प्रशंसा गर्दै नेपाली नागरिकप्रति मलेसिया सरकार र जनताले देखाएको सद्भाव तथा आतिथ्यका लागि आभार व्यक्त गर्नुभयो ।
भेटवार्तामा सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलसहित नेपाल र मलेसिया दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।
दुवै पक्षले डिजिटल कनेक्टिभिटी, क्षमता विकास र डिजिटल विश्वासको क्षेत्रमा सहकार्यका ठोस अवसरहरू पहिचान गर्दै द्विपक्षीय संवाद र साझेदारीलाई निरन्तरता दिने सहमति जनाएका छन् ।






