बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने

  ८ घण्टा अगाडि

म्याग्दी, ७ कात्तिक : बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएको हो ।

पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकको बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्म करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सडकको सतह भासिनुका साथै ग्याबियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा ठूलो क्षति भएको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा पहिरो खसेको छ भने नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ । यस खण्डमा मात्रै तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मालिका गाउँपालिका–६ बलौटेमा म्याग्दी नदीको कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेको छ भने दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ । थापाचौरमा पनि पहिरोले सडक संरचनामा क्षति पुर्‍याएको छ ।

सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ । बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति भएपछि दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ । साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको उक्त सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने गरेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार बलौटेमा नदी कटानले सडकको करिब १०० मिटर खण्ड पूर्ण रूपमा भत्किएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन छ । क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम रहेकाले खोलातर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ ।

कार्यालय प्रमुख उलकले बेनी–पानाबगर खण्ड पुनर्निर्माणका लागि चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा पुनर्निर्माणका लागि दुई करोड २७ लाख ४३ हजार ५९९ रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो । बलौटेको सडक पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको र दसैँलगत्तै काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्नुपर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताउनुभयो । आवश्यक बजेट व्यवस्था गरी क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उहाँको भनाइ छ ।

हाल पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ । फापरखेत पहिरोका कारण शनिबारदेखि पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडकसमेत सञ्चालनमा ल्याइएको छ ।

बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ । दरवाङदेखि मुनासम्मको १८ किलोमिटरमध्ये धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक अन्य खण्ड निर्माणाधीन छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्त्वपूर्ण मार्ग हो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया