दसैँमा पनि रोकिएन रोजगारीका लागि विदेशिने युवाको लर्को

  ७ घण्टा अगाडि

काठमाडौँ, ५ कात्तिक : नेपालीहरूको प्रमुख पर्व बडादसैँका बेला पनि रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेशिने नेपालीको क्रम जारी छ । चाडपर्वको उल्लास र पारिवारिक भेटघाटको समयमा समेत आफ्नो भविष्य निर्माण तथा परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले नेपाली युवायुवती विदेश गइरहेका छन् ।

दसैँमा परिवारसँग बसेर टीका तथा जमरा ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने परम्परा छ । तर, रोजगारी र आर्थिक अवसरको खोजीमा रहेका धेरै नेपालीका लागि चाडपर्वको समयमा पनि विदेश यात्रा बाध्यता बनेको छ ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुको चहलपहल देखिएको छ । विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये रोजगारीको खोजीमा जाने युवायुवतीको सङ्ख्या उल्लेख्य छ । उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा व्यक्तिगत कामका लागि विदेश जानेहरू पनि विमानस्थलमा देखिन्छन् ।

चाडपर्वका बेला घरपरिवारसँगै रहने चाहना हुँदाहुँदै पनि आर्थिक अवसर र भविष्यको खोजीमा विदेशिने प्रवृत्ति बढिरहेको छ । यसले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई समेत झल्काउँछ । स्वदेशमै अध्ययन, पेसा तथा व्यवसाय गर्ने अवसरको खोजीमा रहेका युवाहरू विदेशतर्फ आकर्षित हुँदा गाउँघरमा जनशक्तिको अभाव र खेतीयोग्य जमिन बाँझिने समस्या पनि देखिएको छ ।

रोजगारीका लागि विदेश जान लाग्नुभएका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेशिनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।”

परिवारको दैनिक खर्च धान्न, शिक्षा तथा स्वास्थ्यको व्यवस्था गर्न, आर्थिक अवस्था सुधार्न र भविष्यका लागि बचत गर्न नेपाली युवाहरू विदेशिने गरेको उहाँको भनाइ छ ।

विमानस्थलमा भेटिनुभएका गुल्मीका प्रकाश खत्रीले पनि स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा युवा पुस्ता विदेशतर्फ आकर्षित हुने गरेको बताउनुभयो । उहाँका अनुसार नेपालमा रोजगारीका अवसर सीमित हुनु र उपलब्ध काममा पर्याप्त सेवासुविधा नहुनुले युवालाई विदेश रोज्न बाध्य बनाएको छ । विदेश जाने कतिपय व्यक्तिको आर्थिक तथा सामाजिक अवस्थामा आएको सुधारले पनि युवामा विदेशप्रतिको आकर्षण बढाएको उहाँको भनाइ छ ।

त्यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि सक्रिय जनशक्ति निरन्तर विदेशिँदा देशमा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने बताउनुभयो ।

दक्ष तथा मेहनती युवा विदेशिने क्रम बढ्दा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ । स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नु र युवाको सीप तथा क्षमताअनुसार काम गर्ने वातावरण तयार गर्नु विदेशिने क्रमलाई सम्बोधन गर्न महत्त्वपूर्ण देखिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया