वीरगञ्जको कुम्हालटोलमा मृत फेला परेका व्यक्तिमा कोरोना पुष्टि

  साउन २८, २०७७

वीरगञ्ज, साउन २८ : वीरगञ्जको कुम्हाल टोलमा मंगलबार मृत फेला परेका व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

मंगलबार वीरगञ्जको कुम्हालटोलमा मृत अवस्थामा फेला परेका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ ईटियाहीका ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले गोरखापत्रलाई बताउनुभयो ।

बीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा सामुदायिक प्रहरी कार्यालय नजिकै कुम्हाल टोल जाने बाटोमा मंगलबार दिउँसो करिब ३?३० बजे मृत फेला परेका ठाकुरको बुधबार पिसिआर परिक्षणको रिपोट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुवँरले जानकारी दिनुभयो ।

अत्याधिक मदिरा सेवन गरेर लडिरहेको अवस्थामा ठाकुर मृत फेला परेपछि पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको थियो । मृत्यु पश्चात मंगलबार स्बाव संकलन गरी परिक्षण गर्दा बुधबार पिसिआर परिक्षणमा कोरोना पोजेटिभ रिपोट आएको बताईएको छ ।

शव अहिले नारायणी अस्पतालको शवगृहमा रहेको छ , बारा जिल्लाको भएकाले बाराप्रहरीलाई खबर गरिएको छ , बाराबाट सेनाको टोलि आएर शव लगेर व्यवस्थापन गर्नेछ , बाराको नआउने भएमा मात्र पर्सामा नेपाली सेनाले शव व्यवस्थापन गर्नेछ , प्रहरी नायव उपरीक्षक कुवँरले भन्नु भयो ।

तपाईको प्रतिक्रिया