बिर्तामोड, साउन २८ : समुदायस्तरमै कोरोना सङ्क्रमण देखापरेपछि नेपालको पूर्वी सीमा मेचीनगर नगरपालिका एक साताका लागि लक डाउन गरिएको छ ।
मेचीनगरमा गत साउन २४ गते १०२ जनाको समुदायस्तरको स्वाब संकलन गरी चेक गरिएकोमा चार जनाको रिजल्ट पोजेटिभ देखिएपछि मेचीनगरमा समुदायमै कोरोना पुष्टि भएको भन्दै मेचीनगर नगरपालिकाले बिहीबारदेखि एक साताका लागि लक डाउन गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो ।
पछिल्लो पटक कोरोना सङ्क्रमित हुनेहरुमा एक अस्पतालका डाक्टर समेत रहनुभएको छ भने दुई जना खेलाडी र एक जना पुरुष रहनुभएको छ ।
मेचीनगरमा यसअघि ठूलो सङ्ख्यामा नेपाल भारत सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा समेत एकसाथ कोरोना सङ्क्रमण देखिएको थियो । मेचीनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या हाल एकसय पुगेको छ ।
पछिल्लो पटक झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाले लक डाउन खोले पनि छिमेकी नगरपालिका कनकाईले भने पुन साउन २५ गतेदेखि भदौ ५ गतेसम्म लक डाउनको निर्णय गरेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।






