भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

  ८ घण्टा अगाडि

नयाँ दिल्ली, भारत : भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ । यसको सुरुवात इन्दिरा गान्धी इनडोर स्टेडियममा ठूलो ‘सेवा ज्योति’ कार्यक्रमबाट हुनेछ ।

एक शीर्ष भाजपा स्रोतले प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर ७ मा ‘इन्दिरा गान्धी इनडोर स्टेडियम’ बाट ‘सेवा ज्योति’ कार्यक्रमअन्तर्गत प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गर्न सक्ने सम्भावना रहेको बताएको छ । दिल्ली भाजपाले त्यहाँ करिब पाँच जनाको सहभागिताका लागि व्यवस्था मिलाइरहेको छ ।

मुख्य कार्यक्रमअघि दिल्लीभरका सबै सङ्गठनात्मक मण्डलबाट ‘सेवा ज्योति’ जुलुस निकालिनेछ । भाजपा कार्यकर्ता र समर्थकहरू जुलुसमा सहभागी भई मुख्य स्थल पुग्ने अपेक्षा गरिएको छ ।

स्रोतहरूका अनुसार, दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, मुख्यमन्त्री रेखा गुप्ता, दिल्लीका सबै सांसद र विधायकहरूका साथै भाजपाका राष्ट्रिय तथा राज्य स्तरीय पदाधिकारीहरू कार्यक्रममा सहभागी हुने अपेक्षा छ ।

दिल्ली भाजपाले सेवा सङ्कल्प अभियानअन्तर्गत आगामी दिनहरूमा थप कार्यक्रमहरूको योजना बनाएको छ ।

अक्टोबर ८ मा सङ्घीय स्वास्थ्य मन्त्री जेपी नड्डा दिल्लीको भारत मण्डपममा हुने कार्यक्रममा सहभागी हुने तालिका छ भने अक्टोबर ९ मा केन्द्रीय गृहमन्त्री अमित शाह माटियाला विधानसभा क्षेत्रमा जाने तालिका छ । त्यहाँ उहाँले करिब १३ हजार करोड भारतीय रुपैयाँको ढल प्रशोधन प्लान्टको परियोजना उद्घाटन गर्ने अपेक्षा स्रोतहरूले बताएका छन् ।

अक्टोबर १० मा प्रधानमन्त्री नरेन्द्र मोदी पूसामा हुने कार्यक्रममा सहभागी हुने तालिका छ । स्रोतहरूका अनुसार, वडनगर र वाराणसीबाट मोटरसाइकल ¥यालीमा सहभागी करिब एक हजार २०० जना उक्त कार्यक्रममा उपस्थित हुने र प्रधानमन्त्रीले उनीहरूलाई सम्बोधन गर्नुहुनेछ ।

यी कार्यक्रमहरू प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा भाजपाको व्यापक उत्सवको भाग हुन् । पार्टीले दिल्लीभर सेवा, सार्वजनिक सहभागिता र जनसम्पर्क गतिविधिमा जोड दिएको छ ।

दिल्ली भाजपाले यी कार्यक्रमहरूका लागि आफ्ना सङ्गठनात्मक इकाई र वरिष्ठ नेताहरूसँग समन्वय गरिरहेको छ । साताव्यापी गतिविधिहरूमा पार्टी कार्यकर्ता र जनताको ठूलो सहभागिताको अपेक्षा गरिएको छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया