राँझा (बाँके), १९ असोज : बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित भएका छन् ।
अचानक धानखेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका–५ का किसान अम्मर बुढाथोकीले बताउनुभयो । “धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र सङ्क्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको छ”, बुढाथोकीले भन्नुभयो ।
यस पटक धानको उत्पादन बढ्ने आशा गरेकामा अहिले पाक्ने बेलामा रोगको सङ्क्रमणले उत्पादन घट्ने उहाँको भनाइ छ । रोगबारे वडा कार्यालय र गाउँपालिका कृषि शाखामा जानकारी गराए पनि रोकथामका लागि प्रयास नभएको उहाँले गुनासो गर्नुभयो ।
बुढाथोकीको जस्तै समस्या नेपालगञ्ज–१९ सुइयागाउँका ललवा माहुतको धानखेतीमा पनि देखिएको छ । फल लाग्ने बेलामा परेको भारी वर्षा र हावाहुरीले ढलाएको धानमा अहिले रोगको पनि सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले कतिपय धानखेतमा रोगको सङ्क्रमण भएको सूचना आए पनि क्षतिको विवरण यकिन हुन नसकेको बताउनुभयो । उहाँले पालिकास्तरबाट रोग सङ्क्रमणको अवस्था र क्षतिका बारेमा सूचना सङ्कलन गर्ने काम भईरहेको जानकारी दिनुभयो ।
बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले बताउनुभएको राससमा उल्लेख छ ।






