सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ : ओली

  ३ घण्टा अगाडि

काठमाडौँ, १४ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग आज भएको भर्चुअल सम्बोधनमा उहाँले आन्तरिक एकता थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताउनुभयो । “शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा सङ्गठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र सङ्गठनका हिसाबले एकढिक्का रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन परिचालन गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गर्नुभयो । “हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले पार्टी विरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले पनि प्रभावकारी उपस्थिति देखाउनुपर्ने बताउनुभयो । पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढङ्गले पुर्‍याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर सङ्गठन निर्माण, जनसम्बन्ध विस्तार र अनुशासनमा ध्यान दिन निर्देशन दिनुभयो ।

असोज मसान्तसम्म सदस्यता अभिलेखीकरण
भर्चुअल बैठकमा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिनुभयो । उहाँले पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइनेछ । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कार्यान्वयनमा कडाइ गरिने तथा जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन सङ्गठनात्मक गतिविधि सञ्चालन गरिनेछ ।

भर्चुअल कार्यक्रममा पार्टी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल, पद्मा अर्याललगायत नेताहरूको सहभागिता रहेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया