संयुक्त राष्ट्रसङ्घ, १३ असोज : संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता निकायका अनुसार यमनमा बढ्दो हिंसाका कारण नागरिकहरू विस्थापित हुने क्रम बढेको छ भने रोग फैलिने जोखिमसमेत तीव्र भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनलाई उद्धृत गर्दै देशभर जारी हिंसाका कारण एक लाख ४२ हजार मानिस आफ्नो घर छाड्न बाध्य भएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घ र उसका साझेदार संस्थाहरूले विस्थापित तथा प्रभावित समुदायलाई सहयोग गरिरहेका छन् । हालसम्म एक लाख १५ हजारभन्दा बढी मानिसलाई सहायता उपलब्ध गराइएको छ भने नयाँ विस्थापित परिवार र उनीहरूलाई आश्रय दिने समुदायका लागि करिब दुई करोड अमेरिकी डलर बराबरको आपत्कालीन सहायता परिचालन गरिएको छ ।
मानवीय मामिला समन्वय कार्यालयका अनुसार जारी युद्धले पहिल्यै कमजोर रहेको यमनको स्वास्थ्य प्रणालीमाथि थप दबाब परेको छ । घाइतेहरूको उपचार गर्न केही अस्पतालले आकस्मिक प्रसूति सेवा समेत रोक्नुपरेको छ । स्वास्थ्य साझेदारहरूले २० भन्दा बढी घुम्ती स्वास्थ्य टोली परिचालन गर्नुका साथै आकस्मिक प्रतिक्रिया टोली सक्रिय गरेका छन् र करिब ६० मेट्रिक टन औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
तर जीवनरक्षक स्वास्थ्य सामग्री तीव्र रूपमा घटिरहेको र धेरै प्रभावित क्षेत्रमा पुग्न अझै कठिनाइ रहेकाले थप आर्थिक सहयोग तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।
हिंसा बढेसँगै रोग फैलिने जोखिमसमेत बढेको छ। यस वर्ष यमनभर सात हजार ८०० शङ्कास्पद हैजा र २२ हजारभन्दा बढी शङ्कास्पद दादुराका घटना रिपोर्ट भएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विस्थापित बस्तीमा अत्यधिक भीड, असुरक्षित पानी र कमजोर सरसफाइका कारण थप रोग फैलिने जोखिम बढेको छ । केही विस्थापन स्थलमा हैजाको चेतावनीसमेत जारी गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार अगस्टको सुरुदेखि सेप्टेम्बर २६ सम्म ४२ जनाको मृत्यु र ११५ जना घाइते भएको प्रमाणित गरिएको छ । मृतकमध्ये आधा बालबालिका रहेका छन् भने घाइतेमध्ये करिब दुईतिहाइ महिला र बालबालिका छन् ।
मानवीय मामिला समन्वय कार्यालयले यमनमा संलग्न सबै पक्षलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा मानवीय सहायता आवश्यक परेका मानिससम्म सुरक्षित र निर्बाध रूपमा पुग्ने वातावरण बनाउन आह्वान गरेको छ । (रासस/सिन्ह्वा)






