जेल सजाय भोगिरहेका यादव दुई युवा मृत्यु प्रकरणका मुख्य अभियुक्त

  ३ घण्टा अगाडि

रौतहट, ९ असोज : अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या प्रकरणमा सक्रियता देखिएको छ ।

गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र वडा नं २ का २८ वर्षीय प्रमानन्द सहनीको २०६४ साल वैशाख ३१ गते राति १ बजे गढीमाई नगरपालिका–६ पिपरिया दोसतिया भन्ने स्थानमा गोली हानी हत्या भएको घटनामा निज यादव संलग्न देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार अज्ञात व्यक्ति वा समूहले चलाएको गोलीबाट मृत्यु भएका बैठा र सहनीसम्बद्ध घटनाको छानबिन तथा अनुसन्धानका क्रममा तत्कालीन समयमा तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत सङ्गठनमा आबद्ध यादव मुख्य अभियुक्तका रुपमा देखिनुभएको हो ।

गढीमाई नगरपालिकामा १९ वर्षअघि दुई युवाको हत्या भएको घटनाको अनुसन्धानपछि कर्तव्य ज्यान मुद्दाको मुख्य अभियुक्तका रुपमा निज यादवको पहिचान भएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट गरेको छ ।

यसैबीच, बारा जिल्ला सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट खोलामा हामफालेर बेपत्ता भएका छन् ।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार मानसिक समस्याबाट पीडित यादव उपचारका लागि गरुडातर्फ गइरहेको अवस्थामा मोटरसाइकलबाट ओर्लेर लालबकैया पुलबाट दिउँसो १ बजे खोलामा हामफाली बेपत्ता भएका हुन् । सो घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको तर्फबाट खोज तथा उद्धार कार्य जारी रहेको छ ।

गोताखोरसहित सशस्त्र प्रहरी बलको टोलीसमेत बेपत्ता युवाको उद्धार तथा खोज कार्यमा संलग्न भए पनि लालबकैया खोलामा पानीको बहाव बढेकाले उद्धारमा संलग्न टोलीलाई कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट करिब तीन किलोमिटर पूर्वमा रहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया