मौसमी जोखिममा आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

  २ घण्टा अगाडि

काठमाडौँ, ८ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले मौसमका कारण हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरुले पूर्वतयारी तीव्र पारेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज उहाँले पछिल्लो २४ घण्टामा विभिन्न निर्देशन, सार्वजनिक सूचना, नागरिक अपिल तथा प्रेस विज्ञप्ति जारी गरी पूर्वतयारीलाई तीव्र बनाइएको बताउनुभएको हो । आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको उल्लेख गर्दै उहाँले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षा र हुरी आउनसक्ने पूर्वानुमान मौसम विज्ञान विभागले गरेको उल्लेख गर्दै पूर्वसावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार पछिल्लो २४ घण्टामा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ । तीनवटै सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउँदै विपद् प्रतिकार्यका लागी पूर्ण तयारी गरिएको छ ।

रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन प्रधानमन्त्री शाहले सबैमा आग्रह गर्नुभएको छ । राजमार्गका प्रत्येक सुरक्षा जाँच चौकीले अघिल्लो चौकीसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको पूर्ण सुनिश्चितता भएपछि मात्र सवारीसाधन अघि बढाउने रोक, पर्ख र हेर नीति लागु गरिएको उहाँले उल्लेख गर्नुभएको छ । जोखिमयुक्त सडकखण्डमा राति सवारीसाधन सञ्चालन नगर्न पनि निर्देशन दिइएको उहाँको भनाइ छ ।

साथै सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी स्काभेटर, लोडर, डोजरलगायत भारी उपकरणको पूर्वव्यवस्था गरी जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गर्ने गरि तयारी अवस्थामा राखिएको छ । सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था (खुला÷अवरुद्ध) सम्बन्धी अद्यावधिक सूचना नियमित सार्वजनिक गर्न निर्देशन दिइएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा (ट्रेकिङ) र पर्वतारोहणमा रहनुभएका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परेमा सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ । मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।

सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्वतयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न साथै सबै प्रमुख प्रशासकीय अधितृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको छ । सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री शाहले सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार असोज ९ गते विद्यालयको पठनपाठन सञ्चालन नगर्न तथा यस अवधिमा तोकिएका परीक्षा सम्बन्धित विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले आवश्यकताअनुसार स्थगित गर्न निर्देशन दिइएको बताउनुभएको छ । उहाँले अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष अनुरोध गर्नुभएको छ ।

साथै सबै अस्पताल तथा स्वास्थ्यचौकीलाई आवश्यक जनशक्ति र औषधि–सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई क्रियाशील अवस्थामा राखिएको प्रधानमन्त्री शाहको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सबै गोदाममा आवश्यक मौज्दात कायम गर्न निर्देशन गरिएको उल्लेख गर्दै उहाँले राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गरिनेछ बताउनुभएको छ । मौसमको अवस्था देखाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्ने माथि कडा कारबाही गर्न बजार अनुगमन गर्न निर्देशन गरिएको प्रधानमन्त्री शाहको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर नागरिकलाई एसएमएस अलर्ट पठाइएको छ । स्थानीय सञ्चार माध्यममार्फत मौसमसम्बन्धी नियमित अपडेट तथा सावधानीका उपाय निरन्तर प्रसारण गर्न सञ्चार तथा सूचना मन्त्रालयमार्फत निर्देशन दिइएको छ । दूरसञ्चार सेवा अवरुद्ध भएमा तत्काल सञ्चालन गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहको भनाइ छ ।

“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गर्दछु । कुनै पनि आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र १२३४, स्वास्थ्य हेल्पलाइन १११५, नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्नुहोला”, प्रधानमन्त्री शाहले भन्नुभएको छ । मौसम पूर्वानुमानका लागि ११५५ मा डायल गरी सूचना प्राप्त गर्न पनि उहाँको आग्रह छ । (रासस)

तपाईको प्रतिक्रिया