काठमाडौँ, ७ असोज : जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।
नागोयास्थित किन्जो फुतो एरिनामा आज भएको खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा नेपाल ६–११ ले पछि परेको थियो । सात मिनेट चलेको पहिलो सेटमा पाकिस्तानी जोडीले सुरुआतदेखि नै अग्रता कायम राख्यो । दोस्रो सेटमा भने नेपाली जोडीले प्रतिस्पर्धात्मक खेल देखाए पनि १० मिनेटको खेलपछि पाकिस्तानले ११–१० ले सेट आफ्नो पक्षमा पार्यो ।
दुई सेटमा पराजित भएसँगै विपना र अरहन्तको मिश्रित डबल्सतर्फको एसियाली खेलकुद यात्रा टुङ्गिएको छ । नेपालले जारी एसियाली खेलकुदमा बुधबारसम्म पदक जित्न सकेको छैन ।
मिक्स्ड डबल्समा रुबिन–इभानाको चुनौती समाप्त
एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ । टोयोटास्थित स्काइ हलमा आज भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० ले पराजित भयो । हङ्कङका खेलाडीले तीनै सेट आफ्नो पक्षमा पार्दै नेपाली जोडीको चुनौती समाप्त गरे ।
इभानाले आजै महिला सिङ्गल्सतर्फ पनि प्रतिस्पर्धा गर्दैछिन् । यस्तै, इभाना र नविता श्रेष्ठको जोडीले महिला डबल्समा बिहीबार प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको राससले जनाएको छ ।






