मनिला, ४ असोज : दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् ।
हत्यासहित सवारी साधन चोरी (कान्यार्पिङ)को आरोप लागेका एक संदिग्धलाई पक्राउ गर्न सरकारी सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । त्यस क्रममा ती संदिग्ध र उनका सहयोगीले सुरक्षाकर्मीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको अधिकारीे बताएका छन् ।
झडपमा छ जना सशस्त्र व्यक्ति मारिएको र घटनास्थलबाट पाँच थान राइफल बरामद गरिएको सरकारी अधिकारीले जनाएका छन् । घटनापछि सुरक्षा जोखिमका कारण करिब ३५० स्थानीय बासिन्दा अस्थायीरूपमा आफ्नो बस्तीबाट विस्थापित भएका छन् । (रासस/सिन्ह्वा)






