नागरिक संरचनामाथिको आक्रमणमा आईसीसीसँग सहयोग माग

  ३ घण्टा अगाडि

त्रिपोली, ४ असोज : लिबियाको राष्ट्रपति परिषद्ले राजधानी त्रिपोली र पश्चिमी सहर जावियामा रहेका महत्वपूर्ण नागरिक संरचनामाथि भएका आक्रमणको अनुसन्धानमा सहयोग गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सँग औपचारिक आग्रह गरेको छ ।

शनिबार अबेर जारी गरिएको विज्ञप्तिमा उक्त आग्रहको उद्देश्य लिबियाली अधिकारीले गरिरहेको अनुसन्धानमा प्राविधिक, कानुनी तथा न्यायिक सहयोग प्राप्त गर्नु, अनुसन्धानको भार बाँड्नु, घटनाको वास्तविकता पत्ता लगाउनु र दोषीको पहिचान गर्नु रहेको उल्लेख छ । सम्बन्धित लिबियाली निकायको प्रारम्भिक अनुसन्धानले आक्रमण इन्धन भण्डारण केन्द्र र विद्युत केन्द्रलगायत नागरिक पूर्वाधारलाई लक्षित गरी बनाइएको बृहत योजनाको हिस्सा भएको देखाएको परिषद्ले जनाएको छ ।

ती आक्रमणले सर्वसाधारणको जीवनलाई समेत जोखिममा पारेको जनाइएको छ । परिषदका अनुसार सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा प्राधिकरणले केही आक्रमणका प्रयासलाई नियन्त्रणमा लिएका छन् भने अन्य केही आक्रमणलाई कार्यान्वयन हुनबाट रोकेका छन् । लिबियाली अधिकारीको प्रारम्भिक कानुनी मूल्याङ्कन अनुसार घटनाको प्रकृति, गम्भीरता र परिस्थितिका आधारमा ती घटना ‘मानवताविरुद्धको अपराध’ वा ‘नरसंहार’को श्रेणीमा पर्न सक्ने जनाइएको छ ।

यसै महिनाको सुरुमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त लिबियाको राष्ट्रिय एकता सरकारले त्रिपोली र जावियामा रहेका तेल तथा विद्युत संरचनामा आत्मघाती ड्रोन आक्रमण गरेको आरोपमा पाँच लिबियाली तथा विदेशी नागरिकलाई पक्राउ गरिएको जनाएको थियो । सरकारले घटनामा संलग्न अन्य व्यक्ति तथा आक्रमणको योजना बनाउने, आर्थिक सहयोग गर्ने वा अन्य किसिमले समर्थन गर्ने पक्षको पहिचान गर्न अनुसन्धान जारी रहेको बताएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया