काठमाडौँ, साउन २७ : सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको हो ।
विभागका अनुसार प्रशोधित प्रतिबोतल १६ रुपियाँ र प्रतिजार ५० रुपियाँ मूल्य तोकिएको छ । यसअघि प्रशोधित प्रतिबोतल २० रुपियाँ र प्रतिजार ६० रुपियाँमा बिक्री भइरहेको विभागले जनाएको छ । यसअघि जारको पानीको अधिकृतम खुद्रा मूल्य प्रतिजार ६० रुपियाँ तोकिए पनि उपभोक्ताले ४०-४५ रुपियाँमै किनेर खान पाइरहेका थिए ।
उपभोक्ता अधिकारकर्मीले भने सरकारले निर्धारण गरेको पानीको मूल्यले आमउपभोक्तालाई राहत नभई घात भएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले जारको पानीको गुणस्तरको विषयमा वास्ता नगरी विभागले पानी उद्योगीसँग मिलेर जारको पानीको मूल्य बढाएको आरोप लगाउनुभयो ।
उहाँले मलै बालाजुमा प्रतिजार ३५ देखि ४० रुपियाँमा खाइरहेको छु । सरकारले १५ रुपियाँ बढायो, पानीको गुणस्तर, जारको सरसफाइका विषयमा केही बोलेको भए पनि त गुणस्तर राम्रो हुने भयो भनेर उपभोक्ताले चित्त बुझाउँदा हुन् । त्यो पनि भएन, के आधारमा मूल्य तोकियो ? उपभोक्तालाई जवाफ दिनुपर्छ भन्नुभयो ।
विभागका अनुसार काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर भक्तपुर) र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मूल्य तोकिएको हो । विभागका निर्देशक सागर मिश्रको नेतृत्वमा गत असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियावली २०७६ अनुसार कारबाही गरिने कार्यदलका संयोजक मिश्रले जानकारी दिनुभयो ।
उहाँले उपभोक्ता, पानी उद्योगी र सरोकारवालासँग छलफल गरेर पानीको मूल्य तोकिएकाले कार्यान्वयनमा कुनै समस्या नभएको उहाँको भनाइ छ । विभागले तोकेको पानीको न्यूनतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिने जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नुभयो । उहाँले यसअघिको स्टक भदौ ९ गतेसम्म सक्नुपर्ने र १० गतेपछि विभागले तोकेको एमआरपीभन्दा बढी लेखिएका जार, बोटल बजारमा भेटिएमा कारबाही हुने पनि चेतावनी दिनुभयो ।
अहिले बोतल र जारको पानीको मात्रै समर्थन मूल्य तोकिएको र केही समयपछि ट्याङ्करबाट बिक्री गरिने पानीको पनि मूल्य तोकिने गरिने निर्देशक मिश्रले जानकारी दिनुभयो । विभागका अनुसार प्रतिजार डिस्ट्रिब्युटर मूल्य ३५ रुपियाँ तोकिएको छ भने प्रशोधित पानी एक लिटर बोतल प्रतिकार्टुन डिस्ट्रिब्युटर मूल्य भने १३० रुपियाँ कायम गरिएको छ ।
कार्य स्थगित
यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोरोनाको जोखिममा कार्यालयमा सेवाग्राहीको भीडभाड बढेको भन्दै बजार अनुगमन, आयात निर्यात अनुमति तथा इजाजत बाहेकका कार्य १५ दिनका बन्द गरेको छ । विभागले कोरोनाको जोखिम बढिरहेका बेलामा कार्यालयमा अत्यधिक भीड लागेको भन्दै साउन २५ गतेदेखि भदौ ८ गतेसम्मका लागि यी सेवा बन्द गरेको हो ।
विभागले सूचनामार्फत सोबारे जानकारी गराएको छ । यस्तै विभागले निजी र साझेदारी फर्म दर्तालगायत अत्यावश्क वस्तु आयात गर्नेबाहेक अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको इजाजतसम्बन्धी कार्य स्थगित गरेको जानकारी गराएको छ ।