सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जना मजदुरको मृत्यु

  २ घण्टा अगाडि

खार्तुम, ३१ भदौ : दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० जना सुनखानी मजदुरको मृत्यु हुनुका साथै धेरै जना बेपत्ता भएको जनाइएको छ । मङ्गलबार पश्चिम कोर्डोफानको एल-नाहुद सहर नजिकैको अल-जारा सुनखानी भत्किएपछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ ।

रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना खानी भित्रै फसिरहेको जनाएका छन् । सन् २०२३ अप्रिलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बलबिच युद्ध सुरु भएदेखि, दुवै पक्षको युद्ध प्रयासबिच विदेशी समर्थकका अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको जनाइएको छ ।

द्वन्द्वले सुडानको पहिले नै कमजोर अर्थतन्त्रलाई तहसनहस पारेको छ भने देशका धेरै भागलाई प्रभावित बनाएको छ । दुर्घटनामा परी बाच्ँन सफल भएकाहरुले अहिलेसम्म ६० जनाको शव निकालिएको पुष्टि गर्दै अझै धेरै कामदार खानीको भग्ना अबसेसमा पुरिएको जनाएका छन् । सुडान विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापनको सङ्कटबाट गुज्रिरहेको छ भने हाल लगभग दुई करोड मानिस भोकमरीको सङ्कटको सामना गरिरहेका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया