मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

  ३ घण्टा अगाडि

नयाँदिल्ली, ३१ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत तीन हप्तादेखि चलिरहेको जातीय द्वन्द्वका कारण भएको पछिल्लो झडपमा दुई जना महिलाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । योसँगै यस आक्रमणमा नागरिक हताहतको सङ्ख्या १० पुगेको जनाइएको छ ।

सन् २०२३ देखि मणिपुरमा मुख्यतया हिन्दू बहुमत र यसको मुख्यतया इसाई कुकी अल्पसङ्ख्यकबिच अशान्ति भड्किएको छ, भने पछिल्लो समयामा हिंसात्मक रुप लिदै पछिल्लो समयमा नागा समूहसम्म फैलिएको जनाइएको छ । भूमि र राजनीतिक प्रभावमाथि प्रतिस्पर्धात्मक दाबीद्वारा भड्किएको द्वन्द्वका कारण २५० भन्दा बढीको ज्यान लिएको छ ।

राज्यको राजधानी इम्फालबाट करिब १५० किलोमिटर पश्चिममा रहेको तामेङलोङ जिल्लामा उनीहरूको घर नजिकै भएको आक्रमणमा दुई महिलाको मृत्यु भएको जनाइएको छ । मङ्गलबार दिउँसो दुई महिलाको हत्या भएपछि तामेङलोङमा बन्द जारी रहेको प्रहरी अधीक्षक लानमियो लुइखामले बताउनुभयो ।

लुइखामले यो आक्रमण मुख्यतया क्रिश्चियन नागा र कुकी समूहबिचको हालै भएकोे झडपसँग जोडिएकोसमेत उल्लेख गर्नुभएको छ । “हामीले अनुसन्धान र आवश्यक औपचारिकता पुरा गरिरहेका छौँ र यस क्षेत्रमा शान्ति कायम गर्नमा ध्यान केन्द्रित गरिरहेका छौँ” उहाँले भन्नुभयो ।

युद्धग्रस्त म्यान्मासँग सीमा क्षेत्र साझा भएको मणिपुर राज्यमा भएका तीन वटा छुट्टा-छुट्टै घटनामा आठ जनाको मृत्यु भएको केही दिनपछि यो आक्रमण भएको हो । सामान्य स्थिति पुनःस्र्थापना गर्न भारत सरकारले गरेका प्रयास केही मात्रामा मात्र सफल भएको जनाइएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया